२०७७ माघ ५, सोमवार
बुटवलका सडकमा गुड्ने टिप्परलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टाईमकार्ड लागू गरेको छ । तीब्र गतिमा गुड्ने टिप्परका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै लुम्बिनी प्रदेश ट्राफिकले टाईमकार्डको ब्यबस्था गर्न लागेको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सोमबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी टाइम कार्ड र ट्राफिक प्रहरीका अन्य गतिबिधिबारे जानकारी गराएको हो ।
कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर वि.क. ले पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागोकारखाना सम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाईम कार्ड लागू गरिएको जानकारी दिए ।
टाइमकार्ड सँगै ६ लेन सडकमा यात्रुबाहक सवारी साधन तथा मालवहाक सवारी साधनहरुले आफ्नो गतीअनुसार प्रयोग गर्ने लेनका बारेमा प्रयोग गर्न सिकाइने उहाँले बताउनुभयो । विभिन्न ठाउँमा सडकको प्रयोग तथा नियम बारे भिडियो तथा होर्डिङ बोर्डहरु राखी सचेतना फैलाउनुका साथै नियम विपरित जानेलाई कारबाही गरिने वि.क.को भनाई रहेको छ ।
यसरी तोकिएको समय अनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिप्पर चलाउन पाईनेछ ।
ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ । त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको प्रहरी उपरीक्षक विकले बताए । त्यस्तै सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ ।