१३ वैशाख २०७८, सोमवार
कोरोनाको संक्रमणको क्रम बढ्न थालेपछि सुनौली–भैरहवा सीमा नाकाबाट हुने आवतजावतमा कडाइ गर्न थालिएको छ। सिमानामा तैनाथ नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले अत्यावश्यक काम बाहेक हुने आवागमनलाई निरुत्साहित गर्न सिमानामा कडाइ गर्न थालेका हुन् । नेपाली सुरक्षाकर्मीले भारततर्फ जान खोज्ने सम्पूर्ण यात्रुलाई सिमाना पुग्नु अगावै रोकेर सोधपुछ गर्दै जरुरी काम बाहेक अन्यलाई भारत जानमा रोक लगाउन थालेका छन् ।
जरुरी काम भएकाको पनि प्रमाणको आधारमा मात्र छाड्ने गरिएको छ । नेपालबाट गएका यात्रुलाई आफ्नो देशमा प्रवेश दिनु अगावै सिमानामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले लाइनमा लगाएर सोधपुछ र परिचयपत्रको आधारमा भारत जानु पर्ने कारणको प्रमाण खोज्ने गर्छ । सिमानामा कडाइ गर्न थालिएपछि घरायशी प्रयोजनको सामान किनमेल गर्ने भन्दै सिमावर्ती भारतको सुनौली बजार जाने नेपाली उपभोक्ताको भीड नियन्त्रण हुन थालेको छ ।
सिमानामा तैनाथ नेपाली एक प्रहरीका अनुसार भारतीय सुरक्षा निकाय, सरकारी र निजी कम्पनीमा कार्यरत कर्मचारी, विद्यार्थी, उपचार, बैंकिङ, अध्ययन र सामान्य औषधि किनमेल गर्न जानेलाई प्रमाण देखाएर भारततर्फ जान अनुमती दिइएको छ । भारतबाट नेपाल आउने भारतीय नागरिकको हकमा विमान टिकट भएका, भन्सार प्रयोजन, र आखाको शल्यक्रिया गर्ने जस्ता जरुरी काम बाहेक अन्यलाई रोक लगाइएको छ । भारतबाट फर्केका नेपाली भने सबैलाई आउन दिइएको छ ।