२९ भदौ २०७८, मंगलवार
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको १० दिन प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मातहतका प्रहरी तथा आन्दाेलनपक्षसहित प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको हो । जाहेरीमा मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई किटानी गरिएको छ ।
मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।
बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियाे । घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाएमा मात्रै शव बुझ्ने माइति परिवारको भनाइ छ ।