२०७७ चैत्र १६
वायु प्रदूषण बढेका कारण शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि (मंगलबार) देखि देशभरका सबै शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । देशभर अत्याधिक प्रदूषण बढेपछि मन्त्रालयले स्वास्थ्य सुरक्षामा मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने भएको हो ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।
चिकित्सहरुका अनुसार हाल देखिएको प्रदूषण मानव स्वास्थ्यका लागि घातक रहेको छ । घातक मौसमले आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको चिकित्सकले बताएका छन् ।