दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलको ह्विप

दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलको ह्विप

राजनीति
Spread the love

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ।

मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए।
प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ। नेकपाका ६१ सांसद छन्। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ।

दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ। प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन्।

प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। उनीहरूले कता मतदान गर्छन् खुलिसकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *