बुटवल उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत आजबाट अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । उपमहानगरले सुरु गरेको डिजिटल प्रविधिको बिहीबार एक समारोहका बीच नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका छन् ।
करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
स्थानीय तहलाई बुझाउने राजश्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था मिलाएपछि सेवाग्रहीहरु राजश्व तिर्न कार्यालय जान नपर्ने भएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले डिजिटल सिटिको अभियानमा बुटवलले महत्वपूर्ण कदम चालेको बताए । कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलिलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु अझै प्रोत्साहित हुने पौडेलको भनाइ थियो ।