रौतहटमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरीको शव १८ घण्टापछि उठाइएको छ। प्रहरीको डगटोलीले घटनास्थलको तीन घण्टा लगाएर अनुसन्धान गरेपछि शव उठाइएको हो।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट गएको डग टोलिले घटनास्थलको सुक्ष्म अनुसन्धान गरेपछि किशोरी संझाको शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल लगिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए।
शव भेटेको झण्डै १८ घण्टापछि प्रहरीले किशोरीको शव पोस्टमार्टमको लागि लगेको हो।
मावली घरमा बस्दै आएकी १६ वर्षीया किशोरीको शुक्रबार घाँस काट्न गएको बेला बलात्कारपछि हत्या भएको हो। रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहकी १६ वर्षीया छोरी संझाको हत्या कसले गर्यो खुलेको छैन।
शुक्रबार बिहान ९ बजे घाँस काट्न गएकी संझाको शव नग्न अवस्थामा वृन्दावन नगरपालिका ४ पल्टुवा टोलस्थित बागमती नहरको छेउमा दिउँसो ३ बजे फेला परेको थियो।
दिउँसोसम्म घर नआएकी परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए। साँझ बाख्रा चराउन गएका स्थानीयले शव देखेपछि गाउँले र प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको पकृति हेर्दा बलात्कारपछि उनको हत्या भएको अनुमान स्थानीयबासी र प्रहरीले गरेका छन्।
अपराधी पत्ता लगाउन घटनास्थलको सुक्ष्म अनुसन्धानका लागि प्रहरीले रातभरि संझाको शवलाई घेरा हालेर राखेको थियो।