हैदराबादको पहिलो जित, दिल्ली क्यापिटल्स १५ रनले पराजित

हैदराबादको पहिलो जित, दिल्ली क्यापिटल्स १५ रनले पराजित

खेलकुद
Spread the love

पहिलो दुई खेलमा बेहोरेको हारको श्रृंखला टुंग्याउँदै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ ।

अफगानिस्तानका लेग ब्रेक बलर रशिद खानले ३ विकेट लिएपछि हैदराबादले मंगलबार दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो ।

पहिलो दुई खेल जितेको दिल्लीले पहिलो हार सामना गर्‍यो । आईपीएलको यसअघिका खेल हेर्दाको स्थितिमा १ सय ६३ रनको मध्यम स्कोर पार गर्न नसक्दा शीर्षस्थानको दिल्लीले पराजय स्वीकार्न पर्‍यो । दिल्लीले ७ विकेट गुमाई १ सय ४७ रनमात्र बनाउन सक्यो । रशिदले ४ ओभरमा १४ रन मात्र खर्चेर म्यान अफ द म्याच प्रदर्शन गरे ।

फर्ममा रहेका ओपनर पृथ्वी शलाई भुवनेश्वर कुमारले २ रनमा आउट गरेपछि रशिदले दिल्लीका कप्तान श्रेयस ऐरलाई १७, शिखर धवनलाई ३४ र ऋषभ पन्तलाई २८ रनमा आउट गरे । दिल्लीले राम्रो सुरुआत गर्न सकेन । धवन १२ औं ओभरमा आउट हुँदा दिल्लीको केवल ६२ रनमात्र थियो । धवनले ३१ बल खेल्दै ४ चौका प्रहार गरे । २७ बल खेलेका पन्तले १ चौका र २ छक्का प्रहार गरे ।

सिमरन हेटमायर २१ र मार्कुस स्टाइनिस ११ रनमा आउट भए । खेलको अन्तिम बलमा छक्का प्रहार गरेका कागिसो राबाडा ७ बल खेल्दै १५ रनमा अविजित रहे । हैदराबादबाट ओपनिङ बलर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खालिल अहमदले ४ ओभरमा ४३ र टी नटराजनले ४ ओभरमा २५ रन खर्चेर १-१ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकी तीब्र बलर राबाडाले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि टस जितेको दिल्लीले हैदराबादलाई १६२-४ को स्कोरमा रोकेको थियो । किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्सविरुद्ध पहिलो दुई खेलमा दिल्लीले विजय हात पार्दा पनि राम्रो प्रदर्शन गर्दै आएका राबाडाले हैदराबादविरुद्ध ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

उनले आफ्नो अन्तिम दुई ओभरमा निकै कसिलो बलिङ गर्दै जोनी बेरिस्टो र केन विलियम्सनको विकेट लिएका थिए । उनले १८ औं ओभरमा ५ र २०औं ओभरमा ३ रनमात्र दिएका थिए । वेरिस्टो र विलियम्सनले हैदराबादबाट महत्त्वपूणर् इनिङ्स खेले । बेरिस्टोले ४८ बल खेली २ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका विलियम्सनले २६ बल सामना गर्दै ५ चौकासहित ४१ रन बनाए ।

कप्तान एवं ओपनर डेविड वार्नर ४५ रनमा आउट भए । ३३ बल खेली ३ चौका र २ छक्का प्रहार गरेका उनले बेरिस्टोसँग पहिलो विकेटमा १० ओभर भित्र ७७ रन जोडे । मनीष पाण्डेले ३ रनमात्र बनाउन सके । अब्दुल समाद ७ बलमा १ चौका र १ छक्का प्रहार गरी १२ रनमा अविजित रहे ।
भेट्रान स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले त्यसका लागि ४ ओभरमा ३५ रन खर्चे ।चोटका कारण अघिल्लो दुई खेल गुमाएका इशान्त शर्माले ३ ओभरमा २६ रन खर्चे । लगातार तेस्रो खेलमा पनि दिल्लीले नेपाली स्पिन स्टार सन्दीप लामिछानेलाई खेलाएको थिएन । बुधबार पहिलो दुई खेल जितेका राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *