२०७७ मंसिर १०
गत कार्तिक १७ गते विद्यालय जान भनी घरबाट निस्केर सम्पर्कविहिन भएका कपिलवस्तुका ‘टुरिष्ट गाइड’ राहुल शाहनी २३ दिनपछि बुधबार फेला परेका छन् । उनलाई बुधबार जिल्लाको यशोधरा गाँउपालिका वडा नं. ७ मर्यादपुर स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
सानै उमेरमा ऐतिहासिक बुद्ध स्थल तिलौराकोट र बुद्धको जीवनी बारे परिचय दिएर र पर्यटकलाई व्याख्या गरी चर्चामा आएका उनलाई फेला पारेपछि कपिलवस्तु प्रहरीले परिवारको जिम्मा लगाएको छ । सामान्य परिवारका राहुलले गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई त्यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन् ।
राहुललाई फेला पारेपछि उनका बुबा रिंकु शाहनीले राहुलको अवस्थामा सामान्य रहेको बताउँदै अन्य विवरण बारे पछि कुरा गर्ने बताए । उनीसँग नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान रहेको छ । तिलौराकोटको ऐतिहासिक तथ्य र महत्व बारे विस्तृत रुपमा पर्यटकलाई जानकारी गराएर उनी चर्चामा आएका हुन् ।