प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिका ठाडामा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल डमरु दहको विकास र संरक्षण हुन सकेको छैन। करिब ५२ रोपनी जग्गामा फैलिएको यो दहको संरक्षण र विकास गर्न कसैले चासो नदिएका कारण स्थानीय निराश भएका हुन् ।
गोरसिङ्गे सन्धिखर्क सडक खण्डको ३८ किलोमिटर दूरीमा पर्ने यस डमरु दहले विशेष महत्त्व बोकेको छ। प्राचीन कालमा लंकाका राजा रावण भगवान् शिवको ध्यान गर्न नर्तनाञ्चल पर्वत नरपानीमा जाने क्रममा थकित भए। उनले आफूले बोकेको बाण प्रहार गरी जल निकालेर स्नान गरेको र डमरु राखेको ठाउँमा डमरु आकारको दहनिर्माण भएको धार्मिक विश्वास छ। धार्मिक स्थल डमरु दहमा कहिलेकाहीँ रातको समयमा बराह देवताको प्रतीकको रूपमा पानी भित्र नौ ओटा आगोको ज्वाला देख्न सकिने स्थानीय बताउँछन् ।
नजिकै सुपा देउराली मन्दिर र बाणगंगा नदीको काखमा अवस्थित यस डमरु दहको विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने स्थानीय बताउँछन्। सरकारले यो जिल्लाको पाणीनि तपोभूमि र सुपादेउराली मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलमा सूचीकृत गरेको छ ।
हेरौ डमरु दहका केहि तस्बिरहरु :








